काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार अझै पनि चलिरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि भ्रष्टाचारमाथि कडाइ गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले भने, “आज हामीलाई सुशासन चाहिएको छ, र विकास चाहिएको छ। सुशासन कुनै सम्झौताबिना चाहिएको छ। भ्रष्टाचारसँग सम्झौता हुन सक्दैन।” उनले आफू भ्रष्टाचार न गर्ने र न गर्न दिने अडानमा अडिग रहेको बताए। तर, आफूले थाहा नपाईपनि कतै भ्रष्टाचार भइरहेको हुनसक्ने सम्भावना रहेको उल्लेख गरे। “म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ। तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
भ्रष्टाचार नियन्त्रणका लागि निजी क्षेत्रको सहयोग आवश्यक भएको भन्दै उनले चेम्बर अफ कमर्शसँग साथ मागे। “यो रोक्न तपाईंहरूको सहयोग चाहिन्छ,” उनले चेम्बर अफ कमर्शका प्रतिनिधिहरूलाई आग्रह गरे। प्रधानमन्त्री ओलीको उक्त भनाइले मुलुकमा सुशासनप्रति सरकार गम्भीर रहेको सन्देश दिएको छ भने, निजी क्षेत्रसँग सहकार्य गरेर मात्र प्रभावकारी सुधार सम्भव हुने संकेत पनि गरेको छ।