काठमाडौँ, वैशाख २६ — एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुक २०२५ अनुसार गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र केही सुधारिएको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत रहेको थियो।
एडीबीले जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादनमा सुधार र सेवा क्षेत्रको पुनःउत्थानले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको जनाएको छ। साथै, चालू आर्थिक वर्षमा मुद्रास्फीति दर पनि केही घट्ने एडीबीको अनुमान छ। गत वर्ष ५.४ प्रतिशत रहेको मुद्रास्फीति यस वर्ष ५.२ प्रतिशतमा झर्ने देखिएको छ। आगामी वर्षमा यो दर अझ घटेर ५.१ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ।
उत्पादनमूलक क्षेत्र र सेवा क्षेत्रमा सकारात्मक संकेत
एडीबीका अनुसार, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ, जसले उत्पादनमूलक क्षेत्रको वृद्धि दरमा सकारात्मक प्रभाव पार्नेछ। औद्योगिक र व्यवसायिक वातावरण सुधार गर्न सरकारले ऐन–कानुनमा गरेका फेरबदलले निजी क्षेत्रको लगानी वृद्धि तथा सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
पर्यटन आगमनमा भएको वृद्धिले सेवा क्षेत्रमा समेत गति ल्याउने एडीबीको ठम्याइ छ। पर्यटन, होटल, यातायात र बैंकिङ क्षेत्रको समग्र सुधारले समष्टिगत रूपमा अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय सन्दर्भ र क्षेत्रीय प्रभाव
अन्तर्राष्ट्रिय रुपमा भने अमेरिकी नीतिहरूले एशिया–प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्ने प्रक्षेपण गरिएको छ। विशेष गरी अमेरिका–चीन व्यापार तनावको कारण चीनको आर्थिक वृद्धिमा ठूलो असर पर्ने सम्भावना रहेको एडीबीले उल्लेख गरेको छ। यसै कारण, एसिया–प्यासिफिक क्षेत्रको समग्र आर्थिक वृद्धि ४.९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।
दक्षिण एसियाको आर्थिक वृद्धि दर भने ६ प्रतिशतमा पुग्ने देखिएको छ, जुन अघिल्लो वर्ष ५.८ प्रतिशत थियो।