काठमाडाैँ- बुटवल–नारायणगढ सडक विस्तार अन्तर्गत दाउन्ने खण्डमा मर्मतका लागि सवारी आवागमन बन्द गरिएपछि यात्रु वैकल्पिक मार्गको खोजीमा छन्। झन् मालवाहक र ठूला सवारीलाई भने लामो दुरीको वैकल्पिक रुट प्रयोग गर्नु पर्ने बाध्यता छ।
दैनिक घन्टौं सवारी जाम र धुलोको समस्याका कारण सडक विभागले अत्यावश्यक बाहेकका सवारी साधनलाई दाउन्ने खण्डमा प्रवेश निषेध गर्दै मर्मत तथा विस्तारको काम सुरु गरेको हो। मर्मतको काम चैत २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म, वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरी भइरहेको छ।
यात्रु तथा साना सवारीका लागि बुटवलबाट नारायणगढतर्फ जान पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका हुँदै भुताहा, संसारकोट, पटुके, डाँडाँजोर भएर दुम्कीबास निस्कन सकिने सहज विकल्प देखिएको छ। करिब १५ किलोमिटर लामो यस वैकल्पिक मार्गमा केवल ४ किलोमिटर मात्र कालोपत्रे सडक रहेको छ भने बाँकी कच्ची र साँघुरो भएकाले केवल फोर ह्विलर सवारीका लागि उपयुक्त मानिन्छ।
तर, मालवाहक ट्रक र ठूला सवारीका लागि यस मार्गको प्रयोग उपयुक्त नदेखिएको ट्राफिक प्रहरीको भनाइ छ। सडक विभागले ठूला सवारीलाई पूर्वी नवलपरासीको गैंडाकोटबाट कालिगण्डकी करिडोर हुँदै पाल्पा भएर बुटवल जान सुझाव दिएको छ। यस रुटमा मिनी बस र बससमेत सञ्चालन गर्न सकिनेछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जराले वैकल्पिक मार्ग प्रयोग गर्दा सवारीले सम्बन्धित रुट परमिट अनिवार्य लिनुपर्ने बताएका छन्। सडक बन्दका कारण पश्चिम नवलपरासीको ज्यामिरे र हकुही तथा पूर्वी नवलपरासीको अरुणखोला, चोरमारा र दुम्कीबास क्षेत्रमा सवारी रोकिएको छ।
लुम्बिनी प्रदेश सरकारले दाउन्नेको वैकल्पिक मार्गको रूपमा भुताहा–दुम्कीबास खण्डको सुधारका लागि काम सुरु गरे पनि बजेट अभावका कारण तीव्र गति लिन नसकेको जनाइएको छ। समयमै काम भएको भए अहिलेको अवस्थाबाट छुट्कारा पाउन सकिने सरोकारवालाहरूको भनाइ छ।
बुटवल–नारायणगढ ११४ किलोमिटर सडक खण्डको विस्तार कार्य ६ वर्षदेखि चलिरहेको भए पनि सम्झौता अनुसार काम पूरा नहुँदा यात्रुले झन्झट र सास्ती भोगिरहेका छन्। विशेषगरी दाउन्नेको १४ किलोमिटर क्षेत्रमा धुलो, खाल्डाखुल्डी र घन्टौंसम्मको जामले यात्रु आजित छन्।