काठमाडौँ, वैशाख २६ — सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ।
गत शुक्रबार उच्च अदालतले रुपन्देही जिल्ला अदालतको थुनाबाहिर राख्ने आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसको केही समयपछि उनलाई पक्राउ गरिएको थियो। सोही दिन आकस्मिक सचिवालय बैठक बसे पनि एजेन्डासहितको बैठक बुधबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा पाँचवटा प्रमुख एजेन्डामा छलफल हुने जानकारी दिए। ती एजेन्डामा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको औपचारिक धारणा तय गर्ने, आगामी अधिवेशन, ‘जनयात्रा’ कार्यक्रम, र प्रदेश तथा केन्द्रीय संरचनाको सुदृढीकरण सम्बन्धी विषय समावेश छन्।
“सचिवालयको अघिल्लो बैठकको समीक्षा गर्ने, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यसूची रहेको छ,” उनले भने, “पार्टीको अधिवेशन र जनयात्रा कहाँ लैजाने भन्ने विषयमा पनि निर्णय लिने तयारी छ।”
रास्वपाले शनिबार चितवनबाट ‘जनयात्रा’ सुरु गरेको थियो भने आगामी कार्यक्रम कुन जिल्लामा गर्ने भन्नेबारे निर्णय हुने जनाइएको छ।
बैठक पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्नेछ। यस बैठकमा लामिछानेको गिरफ्तारीबारे पार्टीको आधिकारिक धारणा पनि तय गरिने र सार्वजनिक गरिने जनाइएको छ।
पक्राऊको शैलीप्रति असन्तुष्टि
प्रवक्ता झाले उच्च अदालतको आदेशले कानुनी आधार परिवर्तन नगरेको बताए। “दोषी ठहर भएको होइन, तर पक्राऊको प्रक्रिया आतंककारी समातेजस्तै भयो,” उनले भने। “पक्राउ पूर्जी घरमै आएर लेखिएको थियो, जुन कानुनी प्रक्रिया प्रश्नीय छ।”
यसअघि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले चितवनमा आयोजित कार्यक्रममा अदालतको आदेशको आलोचना गरेका थिए। उनले लामिछाने अदालतमा उपस्थित हुन चितवन पुगेका बेला रातारात पक्राऊ गरिएको भन्दै उक्त प्रक्रिया निन्दनीय रहेको बताए।
“फैसला आउनु २ घण्टा नपुग्दै ७–८ पानाको आदेश लेखिएछ। त्यो पहिल्यैबाट बुनिएको योजना जस्तो लाग्छ,” वाग्लेले भने। उनले लामिछानेलाई सार्वजनिक कार्यक्रमबाट टाढा राख्न नियोजित रुपमा सरकार लागिपरेको आरोप पनि लगाए।
रास्वपाले प्रदेश कमिटीहरूलाई थप सक्रिय बनाउन केन्द्रबाट जिम्मेवारी तोक्ने तयारी गरेको समेत प्रवक्ता झाले जानकारी दिए।