काठमाडौं – देशका विभिन्न भूभागमा वर्षा सुरु भएको छ। सिन्धुपाल्चोक, गुल्मी र बाग्लुङ जिल्लाबाट वर्षा सुरु भएको हो। पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको गुम्थाङ क्षेत्रमा ११ मिमि र ढुङेगे क्षेत्रमा ८.४ मिमि वर्षा भएको छ। त्यस्तै, बाग्लुङको बोबाङ क्षेत्रमा ३.६ मिमि वर्षा मापन गरिएको छ।
वर्षाको फैलावट आज पूर्वी-उत्तरी भूभागमा सीमित रहे पनि भोलिदेखि आगामी २–३ दिनसम्म देशका पश्चिमी भागमा समेत हल्का वर्षा र असिना पानीको संभावना बलियो हुँदै गएको मौसमविद धर्मराज उप्रेतीले जानकारी दिएका छन्।
उक्त वर्षाले वायुमण्डलीय प्रदूषण कम गर्न र पछिल्लो समय देशका विभिन्न स्थानमा फैलिँदै गएका डढेलोलाई नियन्त्रणमा ल्याउन सहयोग पुग्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा समेत वायुप्रदूषणको सूचकांक (AQI) ३०० भन्दा तल झरेको छ। आज बिहानको तुलनामा अहिले प्रदूषणको स्तरमा उल्लेख्य सुधार देखिएको छ। मौसमविदले आगामी दिनमा अझै सावधानी अपनाउन र मौसम अपडेटमा सतर्क रहन नागरिकहरूलाई आग्रह गरेका छन्।