काठमाडौं – संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित बल्खुमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभामा घुसपैठको प्रयास गरिएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सभाको वातावरण बिथोल्न खोजेको आरोपमा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको परिचय अहिलेसम्म खुल्न सकेको छैन। तर, प्रहरी र राप्रपा दुबै पक्षले केही व्यक्तिहरु नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले अनलाइनखबरसँग कुराकानी गर्दै केही मानिसहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए। यस्तै, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताएका छन्।
सभालाई व्यवस्थित र मर्यादित बनाउन उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। राप्रपाले आफ्ना दर्जनौं स्वयंसेवकसमेत परिचालन गरेको छ। सभास्थल वरपर रहेका पार्टी कार्यालय, सरकारी कार्यालय तथा व्यापारिक कम्प्लेक्सहरुमा समेत सुरक्षा सतर्कता बढाइएको छ।