काठमाडौँ — मुलुकको राजधानी काठमाडौँमा वायु प्रदूषण अत्यन्तै बढेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यू एयर ले जारी गरेको पछिल्लो विवरणअनुसार, मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।
उक्त मापनअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २६२ रहेको छ, जुन स्तरलाई ‘निकै अस्वस्थ’ मानिन्छ। सामान्यतः ५० सम्मको AQI स्तरलाई मात्र स्वास्थ्यका लागि सुरक्षित मानिन्छ। विशेषज्ञहरूका अनुसार, काठमाडौँको हावामा पीएम २.५ कणको मात्रा विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डभन्दा ३७.५ गुणा बढी छ, जुन अत्यन्तै खतरनाक मानिन्छ।
वायु प्रदूषणको चपेटामा परेका क्षेत्रमा पाटन, रत्नपार्क, रविभवनलगायतका स्थान प्रमुख रूपमा उल्लेखनीय छन्। प्रदूषणका कारण स्वासप्रश्वास, एलर्जी, आँखाको जलन, टाउको दुख्नेजस्ता समस्या लिएर अस्पताल जाने बिरामीको संख्या समेत दिनप्रतिदिन बढ्दै गएको छ।
वातावरण तथा स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा सर्वसाधारणलाई अत्यावश्यक कार्यबाहेक घरबाहिर ननिस्कन, मास्कको प्रयोग गर्न, झ्यालढोका बन्द गरेर बस्न तथा बाहिर व्यायाम नगर्न सुझाव दिएका छन्। साथै विद्यालय जाने नानीहरूदेखि वृद्धवृद्धासम्मलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा, भियतनामको हानोई तेस्रो स्थानमा रहेको छन्। शीर्ष १० प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन क्रमशः पर्न आएका छन्।
सरकार तथा सरोकारवालाहरूले यस गम्भीर समस्यालाई तत्काल ध्यान दिनुपर्ने माग चुलिंदै गएको छ। वातावरणीय संकटसँगै काठमाडौँबासीको जीवनशैलीमा परिवर्तन ल्याउने र दीर्घकालीन समाधानतर्फ लाग्नुपर्ने आवाजहरू पनि तीव्र रूपमा उठ्न थालेका छन्।