रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै, जनकपुरमा घुइँचो

काठमाडौं – त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्र भगवान् श्रीरामचन्द्रको जन्मोत्सवस्वरूप मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदैछ।

चैत्र शुक्ल नवमीका दिन पुनर्वसु नक्षत्रमा विष्णुको सातौं अवतारका रूपमा श्रीरामचन्द्रको जन्म भएको धार्मिक विश्वास छ। उनका कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको विश्वास गरिन्छ।

धार्मिक ग्रन्थअनुसार, वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी ‘रामराज्य’ स्थापना गरेका थिए। रामनवमी पर्वको महत्वबारे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले रामजस्तै मर्यादित, अनुशासित र जनमैत्री शासक बन्ने प्रेरणा लिनुपर्ने बताए।

उनले भने, “रामराज्यमा सबै जनता सन्तुष्ट थिए, शासक र जनता दुबै मर्यादित र अनुशासित थिए। यही आदर्श पछ्याउन सकेमा मात्र रामनवमीको सार्थकता हुन्छ।”

रामनवमीका दिन देवी पूजासहित श्रीरामको पूजा, जप, पाठ र ध्यान गरेमा ‘श्री’ प्राप्त हुने र मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। व्रतार्क ग्रन्थको अगस्त्य संहितामा व्रत बसी पूजा गर्दा वैकुण्ठ प्राप्ति हुने उल्लेख गरिएको छ।

यस अवसरमा जनकपुरस्थित रामजानकी मन्दिरमा मेला लागेको छ। नेपाल र भारतका हजारौं श्रद्धालु मन्दिर दर्शन गर्न जनकपुर पुगेका छन्। भारतको अयोध्यालगायत विभिन्न तीर्थस्थलहरूमा पनि भव्य रुपमा रामलीला, भजनकीर्तन र रामायण पाठ आयोजना गरिएको छ।

चैत र असोजका नवरात्रलाई ‘जाग्रत दसैं’ र पुस तथा असारका नवरात्रलाई ‘सुप्त दसैं’ मानिन्छ। परापूर्वकालमा चैतको वासन्तीय नवरात्रलाई नै मूल दसैं मानिन्थ्यो भने पछिल्लो समय गर्मीका कारण असोजमा मनाउन थालिएको बताइन्छ।

श्रीरामले मिथिलाका राजा जनककी छोरी सीता देवीसँग विवाह गरेपछि सत्य, मर्यादा र धर्मको मार्गमा रहेर राक्षस प्रवृत्तिको विनाश गरेका थिए। त्यसैले पनि रामनवमी पर्वलाई सत्यको विजय र नैतिकताको उत्सवको रूपमा मनाइन्छ।

सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ। देशभरका राम मन्दिरमा विशेष पूजापाठ, भजनकीर्तन र भक्तजनहरूको भीड देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्