काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफैँले आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले गिरफ्तारी दिन लागेको जानकारी दिएका हुन्।
यद्यपि उनले आफूमाथि ठूलो अन्याय भएको गुनासो गरेका छन्।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदै छु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। म माथि ठूलो अन्याय भएको छ’, उनले भनेका छन्।
यसअघि शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो।
लामिछानेले एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए।
यसैगरी सरकारी वकिलको कार्यालयले फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो।