काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले उक्त निर्णय गरेका हुन् ।
महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब वितरण हुने गरी गुरागाईंले शुक्रबार निर्णय लिएका छन् ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो, तर कर्मचारीहरूले उनलाई रोक्न नदिई कार्यकक्षसम्म पुर्याएका थिए ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।
यसै कारण, कर्मचारीहरू तलब नपाएको भन्दै असन्तुष्ट थिए । शुक्रबार गुरागाईंले तलब वितरणका लागि तोक लगाएपछि कर्मचारीहरू राहतको महसुस गरेका छन् ।