कार्यवाहक प्रधानमन्त्रीले आन्दोलनरत शिक्षक प्रतिनिधिसँग आज छलफल गर्ने

काठमाडौं – देशभरका आन्दोलनरत शिक्षकहरूका प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज छलफल गर्नुभएको छ। सिंहको कार्यकक्षमा दिउँसो ३ बजेका लागि नेपाल शिक्षक महासंघका पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको हो।

शिक्षक महासंघका एक पदाधिकारीले सरकारले औपचारिक रूपमा छलफलमा बोलाएको पुष्टि गरेका छन्। बिहीबार कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवालाबीच प्रारम्भिक छलफल भइसकेको थियो। त्यसपछिको निरन्तरतास्वरूप आजको बैठक तय गरिएको हो। बैठकमा गृहमन्त्री, मुख्य सचेतक र प्रमुख सचेतकको पनि सहभागिता रहने जनाइएको छ।

यद्यपि महासंघका पदाधिकारीहरू सरकारसँग पुनः छलफलमा सहभागी नहुन सक्ने संकेत दिएका छन्। महासंघका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले भनिन्, “सहमति पहिल्यै भइसकेको हो। अब ऐन जारी गरियोस्, हामी घर फर्किन्छौं। सहमतिका लागि मात्र वार्ता आवश्यक छैन।”

तर वार्तामा सहभागी हुने वा नहुने भन्नेबारे महासंघभित्र छलफल जारी छ। शिक्षकहरू शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शनमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्