पुलेन्द्र कार्की
बिश्व राजनितिको बिकास क्रमलाई खोतल्दा, राज्यहरूको उत्पति निर्माण र पुनर्निर्माण विभिन्न कालखण्डहरू मा बिभिन्न ढंगले भएको पाइन्छ, प्राचिनतम राज्यहरू मध्ये,अपवादको रुपमा एथेन्समा गणतन्त्रात्मक वा अलिगार्किक शासन थियो, वाहेक का सवै राज्यहरूमा राजा, सम्राट, किङ महाराजाधिराज,चक्रवर्ती, वान्ग, तियान्जी (चीन), तेन्नो(जापान), शहनशाह,जार, सुल्तान, मलिक, खलिफा आदि इत्यादी पदवीधारी शासकहरूले शासन गरेको इतिहास पाइन्छ।
गतिशीलता चराचर जगतको यथार्त हो, शासन प्रणाली पनि यो गतिशीलताको यथार्त भन्दा पृथक रहने बिषय थिएन र समय क्रम संगै इतिहासको कुनै कालखण्डमा राम्रै योगदान र रजगज गरेका , भगवानकै प्रतिनिधि को रूपमा सम्मानित मिस्रका राजा फेरो देखि, स्वर्गको छोरा मानिने चीनका राजा तियान्जी सम्म र बिष्णुकै अवतार भनेर मानिएका नेपालका राजा सहित अधिकांश राजतन्त्र हरू इतिहासमा अध्यनको विषय मात्र बन्दै गए र वन्निरहने क्रम जारी रहनेछ।
बिश्वमा संयुक्त राष्ट्रसंघ ले सदस्यता दिएका १९३ देश हरू छन, आंशिक मान्यता प्राप्त ताइवान, कोसवो जस्ता देशहरू गरी झण्डै ३०० देशहरू को गणना मध्ये, जम्मा ४३ वटा देश हरु मा मात्र कुनै न कुनै प्रकारको राजतन्त्र शेष रहेकोछ, जस मध्ये पनि साउदी अरेबिया,ओमान, ब्रुनेई, स्वाजिल्याण्ड,युएई, कतार, भेटिकन सिटी, जर्डन गरी जम्मा ८ वटा देशहरुमा राजाको प्रत्येक्ष शासन वहाल छ, भने बाकि ३५ वटा देशहरूमा नाम मात्रको राजतन्त्र वहाल छ, जस भित्र अष्ट्रेलिया, क्यानाडा, न्युजील्याण्ड जस्ता क्यारेवियन राष्ट्रहरू जस्ले अैापचारिकतामा मात्र बेलायतका राजा रानी लाई राष्ट्र प्रमुख मान्दछन, यी राष्ट्रहरू पनि समावेश छन।
बिश्वको राजनितिक इतिहास वाट गर्ल्याम गुर्लुम भएका राज संस्थाहरू पुनर्वहाल खातिर जन आन्दोलन भएका र आन्दोलनको वलले राजा फर्केका उधाहरण हरु संसारमा देखिदैनन, तथापि राजतन्त्रको अन्त्य भएको केही समय काल नवित्दै राजा पुनर्वहाल भएका देशहरू भनेछन। कम्वोडिया, स्पेन र वेलायत राजा पुनर्वहाल प्राप्त गर्ने चर्चा योग्य देशहरू भित्र पर्दछन।
कम्बोडिया मा सन १९७० मा प्र.म. लोन नोलले शैनिक ‘ कु’ गरी राजा नरोदम सिहानुक लाई अपदस्त गरी राजतन्त्र अन्त्य गरे। पोल पोट नेतृत्वको खमेरूजले लोन नोलको सरकारलाई पराजित गरी क्रूर र अधिनायकवादी शासन सन्चालन गर्यो।भियतनामी सेनाले खमेरुज माथि आक्रमण गरी सन १९७९ मा नयाँ सरकार त वनायो तर कम्वोडिया लामो राजनितिक अस्थिरता भित्र फस्न पुग्यो। सन १९९१ मा पेरिस सम्झौता गरी, सन १९९३ मा UNO को निरीक्षण मा चुनाव सम्पन्न गरी चनाव पछिको राजनैतिक सम्झौता मार्फत राजतन्त्र पुनर्वहाल गरियो।
बेलायतमा सन १६४९ मा ओलिवर क्रमवेल नेतृत्व मा भएको सफल क्रान्ती पश्चात राजा चार्ल्स प्रथम लाई मृत्युदण्ड दिई इंग्ल्यान्डलाई,गणतन्त्र (Commonwealth of England) घोषणा गरियो। क्रोमवेललाई लर्ड प्रोटेक्टरको रूपमा शासन सुम्पियो, र राजतन्त्रलाई समाप्त गरिएको थियो। १६५८ मा ओलिभर क्रोमवेलको मृत्यु पछि, उनको छोरा रिचर्ड क्रोमवेलले शासन सम्हाले तर कमजोर नेतृत्वका कारण शासन अस्थिर भयो।राजनीतिक अस्थिरता र असन्तुष्टिका कारण, १६६० मा चार्ल्स द्वितीयलाई राजा घोषणा गर्दै राजतन्त्र पुनर्स्थापित गरियो। यसलाई The Restoration भनिन्छ।वेलायतमा आज पनि राजतन्त्र छ, तर यो संवैधानिक राजतन्त्र हो जहाँ वास्तविक शक्ति संसद र प्रधानमन्त्रीसँग हुन्छ। राजा वा रानी मुख्य रूपमा औपचारिक र प्रतीकात्मक भूमिकामा छन्।
स्पेन जहा सन १९ सन् १९३१ मा दोस्रो गणतन्त्र स्थापना भयो र राजा अल्फोन्सो XIII निर्वासनमा जान बाध्य भए। सन् १९३६ देखि १९३९ सम्म स्पेनिश गृहयुद्ध भयो, जसमा रिपब्लिकन (गणतन्त्र समर्थक) र नेशनलिस्ट (राजावादी र फासिस्ट समर्थक) बीच लडाइँ भयो।फ्रान्सिस्को फ्रान्को नेशनलिस्टहरूको नेतृत्वमा विजयी भए र तानाशाही शासन स्थापना गरे।राजतन्त्र समाप्त भएन, तर फ्रान्कोले आफैँ शासन गर्न थालिन,फ्रान्कोको मृत्यु नोभेम्बर २०, १९७५ मा भयो।दुई दिन पछि, नोभेम्बर २२, १९७५ मा जोआन कार्लोस राजा बने।जोआन कार्लोसले राजतन्त्रलाई तानाशाहीबाट संवैधानिक राजतन्त्रमा परिवर्तन गराउन मुख्य भूमिका खेले।
नेपाली सन्द्रभमा पनि राजा पुनर्वहाल हने वा नहुने विषय केवल वहसमा मात्रै सिमित रहेन, चैते राजावादीहरू त यति विधि चमक धमक देखाउन थाले की, मानौ राजा उन्को पाँच अैाले पन्जा भित्र छन, छु मन्त्र गरी फुक्न मात्रै वेर छ, फुक्ना साथ गणतन्त्र खल्लास, राजतन्त्र झल्लास। कम्वोडिया, स्पेन, वेलायत मा राजा फर्किए, नेपालमा किन नफर्किने जस्ता बौद्धिक बिश्लेषण पनि भए गरेको देखिन्छ, तर के कम्वोडिया मा राजतन्त्र को अन्त्य जनआन्दोलन मार्फत भएको हो? होइन त्यहा शैनिक ‘कू’ मार्फत राजा अपदस्त भएका हुन, पोल पोट जस्ले कम्बोडियाको कुल जनसंख्याको २५% जनताको हत्या गरेर क्रुरता देखाए त्यो अधिनायकवाद संग सुशासन मा जति सुकै कमजोरी भए पनि नेपालको गणतन्त्र को तुलना योग्यछ ? स्पेन र वेलायतको प्रसंग झन प्रेरणादायी छ, स्पेनको सत्ता लामो गृह युद्ध पछि,फ्रान्सिस्को फ्रान्को को हातमा सत्ता गयो, उन्ले नेपालको राणा शैली अवलम्वन गरी राजालाई खोपीमै सिमित गरिन, फ्रान्को को मृत्युको २ दिन पछि राजा भएका कार्लोसले राजाका सवै अधिकार कटौति गर्दै जनतालाई सार्वभौम वनाउने प्रस्ताव आफैले लगेर पास गरे। बेलायतमा सन १६४९ मा ओलिवर क्रमवेल नेतृत्व मा भएको सफल क्रान्ती पश्चात क्रमवेल नयाँ राजाको रुपमा उदाए, उन्को छोराको असक्षमता स्वरुप राजतन्त्र पुनर्स्थापित गरियो तर नाम मात्रको । मध्यपुर्वका केही देशहरू बाहेक सर्वत्र हेर्दा, शासन गर्ने आकाङ्क्षा र सामन्ती रजगजको मोह त्याग जुन जुन राजा हरू ले गरे ती राजाहरू जनता माझ सदा सम्मान योग्य रहिरहे, स्वं लाई मालिक र घिमाई फिराई जनतालाई दासता कै चक्की पिस्न बाध्य गराउने लालची राजा हरू नामेट भएकाछन, त्यस कारण गणतन्त्र का स्रोत अरु नभएर राजा आफै हुन।
गणतन्त्रवादी नेता र दलहरू का हजारौ कमजोरीहरु छन, आचरणमा, व्यवहारमा, पात्रमा र प्रवृत्तिमा परिवर्तन गर्न, गराउन सवै तिर वाट कठोर प्रहार जरुरी छ, तर यही कमजोरीको तावामा रोटी सेक्ने राजा र कथित राजावादी हरूको प्रयास मुलुकको लागि त हितकर छैन नै, स्वं राजा को पनि अहितमा छ। राजा पृथ्वी नारायण शाह देखि, जनता द्वारा निर्वाचित संविधानसभाको प्रथम बैठकले गरेको निर्णय लाई हाँसी हाँसी स्विकार्दै जनता लाई श्रीपेज र राजदण्ड बुझाउने राजा ज्ञानेन्द्र सम्मको अवधिका कयौ अध्यारा र उज्याला घटना प्रसंगहरू छन, नेपाली जनताले ती प्रसंगहरू नउपक्काई थाती राख्न चाहेको बेलामा किन राजा लाई विवादमा तान्न खोजिदैछ ? साच्चिकै हिसाव किताव गर्नेहो भने नेपाली जनताले राजालाई सदैव साँथ र आँत दिदै आएकोछ, २००७ सालमा भारतिय दुतावास हुदै भारत पसेको राजसंस्था लाई सम्मान का साथ स्वदेश फर्काई गद्धीमा बिराजमान गराउने नेपाली जनता थिए, तर नेपाली जनताले वदलामा २०१७ पौष १ प्राप्त गरे, जन निर्वाचित प्र.म. वीपी कोइराला लाई जेल नहाली, दलहरू माथि प्रतिवन्ध नलगाई,मालिक वन्ने लोभ धेरै नगरेको भए, वेलायत र स्पेनको राजा झै नेपाली राजाको सम्मान पनि झन झन चुलिदै जान्थ्यो, राजा विरेन्द्रको बंश विनास हुने गरि भएको नारायणहिटी पर्व र त्यसले सृजना गरेको महाशंसय पुर्ण वातावरणमा, वृद्ध गिरिजा प्रसादले आफुले ढुङ्गामुढा खाएर भए पनि राजसंस्थाको निरन्तरताको लागि खेलेको भुमुका, सातदलहरूले राजतन्त्र को बैधताको निरन्तरतामा जनाएको ऐक्यवद्धता लाई वेवास्ता गर्दै, म देखिन तर नवोल्ने राजा होइन भन्दै, सवैथोक आफै हुने कुवाटो रोझ्ने रोझाई ले नेपाल गणतन्त्र उन्मुख भएको यथार्तलाई राजावादी हरूको आन्दोलनका कारण ले पछिल्लो पुस्ताले पनि बुझ्ने मौका पाइरहेका छन ।
राजावादी भनिएकाहरु को वर्तमान आन्दोलन ले राजा र राज परिवारको पक्ष र विपक्षमा सार्वजनिक वकालतहरू भइरहेकाछन । सुशासन भएन, नातावाद बढ्यो, संघीयताको मर्म अनुसार काम भएन, चालु खर्च बढ्यो, जनप्रतिनिधीहरू सुविधाभोगी भए, युवा पलायन रोकिएन भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र का आफु लाई पक्षपाती भन्ने दलहरु र दलका नेताहरूको आलोचना आन्दोलनरत राजावादीहरू ले जसरि गरिरहेकाछन, त्यसरि नै दल र नेताहरूको विरोध खाटी गणतन्त्रवादीहरु ले पनि गरि रहेकाछन, जुन विरोध गणतन्त्र विस्थापन गरी राजतन्त्र वहाल गर्न नभई गणतन्त्र लाई गुणस्तरीय वनाउन गरिएको रचनात्मक खवरदारी हो तसर्थ यो खवरदारीले कालान्तरमा गणतन्त्र लाई नै वलियो वनाउनेछ, भन्ने हेक्का राजा र राजावादी हरूले राख्न जरुरीछ।
राजनितिक दलहरू र दलका मुखिया नेताहरू चौतर्फी आलोचित भइरहेको वर्तमान समयमा उठान गरिएको राजा र राजावादी हरू को आन्दोलनले, सवै को ध्यान बिगतको राजतन्त्र काल तिर तानिनु स्वभाविकछ। नेपालको लोकतान्त्रिक आन्दोलन प्रति राजाहरुको पटक पटक प्रकट भएको अनास्थाको बिषय मात्र नभएर, राजपरिवार भित्रका सत्ता संघर्ष र रक्तपात का कथा व्यथाहरु, सत्ता स्वार्थमा भएगरेका सन्धी सम्झौताहरू, सामन्ति संस्कार र संस्कृति, परिवारका सदस्यहरुको आचरण र व्यवहार, वारे नेपाली समाजमा एकाएक राजतन्त्र को प्यान्डोरा बक्स राजा र राजावादीहरु को तर्फ बाट खुला भएकोछ। नयाँ पुस्ता जस्लाई राजाको वारेमा धेरै जानकारी थिएन, तिन्ले पनि राज करतुत पढने बुझ्ने मौका पाइरहेकाछन, तसर्थ यो आन्दोलनले गणतन्त्र लाई होइन राजतन्त्र लाई नै खुल्याउने निश्चित देखिन्छ। आन्दोलनमा नायक वनाइएका पात्रहरूको अनुहार र अभिव्यक्ती हेर्दा र १५ गते आयोजित लुटान्दोलन को प्रत्येक्ष प्रशारण हेर्दा आन्दोलन र आन्दोदनकारी हरू ले राजतन्त्र फर्काउने होइन, बरु राजतन्त्र को बचेखुचेको प्रतिष्ठा माथि हुरमत हाल्ने निश्चित झै देखिन्छ।