गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष – ‘राजतन्त्र पक्षधर गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र’

काठमाडौं – पछिल्लो समय देशभर राजतन्त्र पुनःस्थापनाको पक्षमा भइरहेका गतिविधिहरूको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकाल्दै गणतन्त्र पक्षधर दलहरूले यस्ता क्रियाकलाप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।

आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा गणतन्त्र पक्षधर दलहरूबीच यस विषयमा छलफल भएको थियो। बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिँदै भने, “संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई उल्ट्याउने, नेपालको संविधान समाप्त गर्ने जस्ता गतिविधिहरूमा पूर्वराजा शाह संलग्न रहेको निष्कर्षमा हामी पुगेका छौँ। यस्ता क्रियाकलाप गणतन्त्र विरोधी हुन् र सह्य हुने छैनन्।”

गृहमन्त्री लेखकका अनुसार पछिल्लो समय राजतन्त्र पुनःस्थापनाको माग गर्दै विभिन्न स्थानमा भएका प्रदर्शनहरू योजनाबद्धरूपमा गरिएको र यसको पछाडि पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको ठहर गरिएको छ।

तीनकुने घटनाप्रति दलहरूको कडा आपत्ति
गत चैत १५ गते तीनकुनेमा भएको झडपबारे पनि बैठकमा छलफल भएको थियो। बैठकमा सहभागी दलहरूले उक्त घटनालाई ‘अमानवीय, बर्बरतापूर्ण र निर्मम प्रकृतिको’ भन्दै कडा शब्दमा आलोचना गरेका छन्। गृहमन्त्री लेखकले भने, “तीनकुने घटनाका सबै पक्ष गम्भीर छन्। यसमा राज्यले आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्नेछ।”

बैठकमा सहभागी दलहरूले गणतन्त्र र संविधानमाथि कुनै पनि प्रकारको हमला सह्य नहुने स्पष्ट पारेका छन्। उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउँदै संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्