काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा हुने भएको छ।
घिसिङले आफ्नो पदमुक्ति खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि न्यायाधीश अजिज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो। साथै, घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको मिसिल पेस गर्नसमेत आदेश दिइएको थियो।
यसैबीच, घिसिङलाई पुनः जिम्मेवारी दिन नहुने माग राख्दै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको मुद्दालाई पनि सुनुवाइका लागि उही इजलासमा राखिएको छ।
न्यायाधीश राउत र सुवेदीको इजलासले अब कुलमान घिसिङले माग गरेअनुसार अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्नेछ। यो मुद्दा अग्राधिकारका रूपमा हेरिएको छ र यसबारे चाँडै टुंगो लाग्ने अपेक्षा गरिएको छ।