काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सांसद धवल शमशेर जबरा फौजदारी अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीले शुक्रबार तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिसँग सम्बन्धित आरोपमा उनलाई पक्राउ गरेको हो।
स्रोतका अनुसार, नेपाल प्रहरीले जबरालाई पक्राउ गरेको जानकारी सभामुख देवराज घिमिरे र संघीय संसद् सचिवालयलाई आधिकारिक रूपमा गराइसकेको छ। प्रहरीद्वारा उपलब्ध गराइएको सूचनामा जबरामाथि फौजदारी अभियोगमा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।
नेपालको संविधानको धारा १०३ अनुसार, संघीय संसद् सदस्य पक्राउ परेपछि त्यसको जानकारी तुरुन्तै सभामुख र संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था रहेको छ। यद्यपि, संसद अधिवेशनको अवधिमा कुनै पनि सांसदलाई पक्राउ गर्न नपाइने भए तापनि फौजदारी अभियोगका सन्दर्भमा भने संविधानले रोक लगाएको छैन।
संविधानको धारा १०३ को उपधारा ६ मा, ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ,’ भनी उल्लेख गरिएको छ।
यसै अनुरूप, सभामुख देवराज घिमिरेले संसदलाई धवल शमशेर जबराको पक्राउबारे जानकारी गराउने तयारी गरिरहेका छन्।