काठमाडौं – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित दर्ता गरेको छ। शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गर्दै गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। टोलीका लागि साई सुदर्शनले उत्कृष्ट प्रदर्शन गर्दै ६३ रनको योगदान दिए। जस बटलरले ३९ रन तथा कप्तान शुभमन गिलले ३८ रन जोडे। शेरफान रदरफोर्डले पनि १८ रन बनाए।
बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए भने मुजीब उर रहमान, दीपक चहर, ट्रेन्ट बोल्ट र सत्यनारायण राजुले समान १-१ विकेट लिए।
१९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। सुर्यकुमार यादवले सर्वाधिक ४८ रन जोडे भने तिलक वर्माले ३९ रन बनाए। ओपनर रोहित शर्मा ८ तथा रायन रिकेल्टन ६ रनमै आउट भएपछि मुम्बई दबाबमा परेको थियो।
गुजरातका प्रसिद्ध कृष्णाले शानदार बलिङ गर्दै १२औं, १४औं, १६औं र १८औं ओभरमा जम्मा १८ रन खर्चेर २ विकेट लिए। सिराज र प्रसिद्धले समान २-२ विकेट लिए भने साइ किशोर र कगिसो रबाडाले १-१ विकेट हात पारे।
यस जितसँगै २ खेलमा २ अंक जोडेको गुजरात अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। लगातार दुई खेलमा पराजित मुम्बई भने अंकविहीन रहँदै नवौं स्थानमा रहेको छ।