काठमाडौं । प्रहरीले तीनकुने घटनामा संलग्न भएको आरोपमा ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आज बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
शुक्रबार तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार राजभण्डारी सोही प्रदर्शनमा संलग्न थिए ।
पक्राउ परेका राजभण्डारीले आज बिहान मात्र सामाजिक सञ्जालमा पत्रकारको मृत्यु राज्य पक्षकै कारण भएको आरोप लगाएका थिए । यसैबीच, तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धर्मगुरु पुष्कर खतिवडालाई पनि आज बिहान नियन्त्रणमा लिएको छ ।
यसअघि, शुक्रबार नै प्रहरीले राजावादी प्रदर्शनमा संलग्न रहेको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरिसकेको थियो ।