ज्ञानेन्द्र शाहलाई छाडा छोड्ने छुट छैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक रहेको पुनः पुष्टि भएको टिप्पणी गरेका छन्।

शुक्रबार राजावादी समूहले नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा गरेको तोडफोडपछि स्थलगत अनुगमन तथा समाजवादी मोर्चाको बैठक सकेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारलाई कडा कदम चाल्न सुझाव दिएका छन्।

“जे भएको छ, त्यसबाट स्पष्ट छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै छन्। इतिहासले पनि देखाएको छ कि ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ, अहिले फेरि त्यही पुष्टि भएको छ,” उनले भने। घटनापछि सरकार र सुरक्षा निकायको तयारी प्रभावकारी नभएको भन्दै प्रचण्डले आलोचना गरे।

“सरकार र प्रहरीको राम्रो तयारी देखिएन। यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०-४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु बडो विडम्बनापूर्ण विषय हो,” उनले थपे।राजधानीको केन्द्रमै भएको यस्तो घटनापछि सुरक्षा संयन्त्रको गम्भीर पुनरावलोकन आवश्यक रहेको उनले बताए।

प्रचण्डले घटनामा संलग्न सबै अपराधीलाई छानबिन गरेर कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै भने, “अपराधीलाई कारबाही गर्नुपर्छ। ज्ञानेन्द्र शाहलाई पनि छाडा छोड्ने छुट छैन। नेपाली जनता त्यसका लागि तयार छैनन्। सरकार गम्भीर बनोस्।” सरकारले आगामी दिनका लागि सुरक्षा व्यवस्थालाई बलियो बनाउन आवश्यक रणनीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्