१०५ जना अझै प्रहरी नियन्त्रणमा
काठमाडौं — शुक्रबार भएको हिंसात्मक प्रदर्शनको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक शनिबार बिहान प्रभावित क्षेत्रमा जाने भएका छन्।
शुक्रबारको प्रदर्शनपछि जारी गरिएको कर्फ्यु आदेशको समय सकिएसँगै अवस्था सामान्य बन्दै गएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार तत्काल थप कर्फ्यु आदेश जारी गर्ने सम्भावना छैन, तर सुरक्षा सतर्कता भने उच्च पारिएको छ।
प्रहरीले प्रदर्शनलाई कडा रूपमा नियन्त्रण गर्ने तयारी गरेको छ। एसपी बोहराले भने, “हालसम्म कुनै प्रदर्शन हुने पूर्वसूचना छैन, तर हामी हाईअलर्टमा छौं। यदि प्रदर्शन भए, गोली प्रहार गर्न सकिन्छ।”
१०५ जना अझै प्रहरी नियन्त्रणमा
शुक्रबारको प्रदर्शनका क्रममा संलग्न भएको आरोपमा १०५ व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये केही व्यक्तिहरूलाई शकाको आधारमा पक्राउ गरिएको हुँदा अनुसन्धानपछि रिहा गर्न सकिने बताइएको छ। पक्राउ परेकाहरूविरुद्ध कुन मुद्दा चलाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
शुक्रबारको घटनापछि सुरक्षाकर्मीलाई थप सतर्क रहन निर्देशन दिइएको छ भने राजधानीका संवेदनशील क्षेत्रहरूमा कडा निगरानी गरिएको छ।