काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूले चेन्नई सुपर किंग्सलाई ५० रनले पराजित गरेको छ।
बेंग्लुरूले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ८ विकेट गुमाएर १४६ रनमात्रै बनाउन सक्यो। चेन्नईका अनुभवी खेलाडी महेन्द्रसिंह धोनीले १६ बलमा ३ चौका र २ छक्कासहित नट आउट ३० रन बनाए। ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौका प्रहार गर्दै ४१ रन बनाएका थिए। यस्तै, रविन्द्र जडेजाले २५, शिवम दुबेले १९ र रविचन्द्रन अश्विनले ११ रनको योगदान दिए। अन्य ब्याटरहरू भने दोहोरो अंकमा रन बनाउन असफल भए।
बेंग्लुरूका बलर जोश हेजलउडले तीन विकेट लिए भने यश दयाल र लियाम लिभिङस्टोनले समान दुई/दुई विकेट झारे। भूवनेश्वर कुमारले एक विकेट लिएर टिमलाई सफलता दिलाए।
बेंग्लुरूको उत्कृष्ट ब्याटिङ प्रदर्शन
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लुरूले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो। कप्तान रजत पाटीदारले विस्फोटक अर्धशतक प्रहार गरे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतले ५१ रन बनाए।
ओपनर फिल साल्टले ३२, विराट कोहलीले ३१, टिम डेविडले २२ तथा देवदत पाडिकलले २७ रन बनाए।
चेन्नईका बलर नूर अहमदले ३ विकेट लिए भने मथिशा पाथिरनाले २ विकेट लिए। खलिल अहमद र रविचन्द्रन अश्विनले समान एक/एक विकेट लिए। यस जितसँगै बेंग्लुरूले लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि उसले साविक विजेता कोलकाता नाइट राइडर्सलाई हराएको थियो।
यता, चेन्नई सुपर किंग्सका लागि भने यो सिजनको पहिलो हार हो। उसले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो।