काठमाडौं – राजधानीको तीनकुनेस्थित एक भवनमा भएको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
घटनास्थलमा प्रत्यक्ष रिपोर्टिङ गरिरहेका रजक उक्त भवनको छतमा चढेर दृष्य कैद गरिरहेका बेला आगलागी भएको थियो। प्रहरी र राजावादी प्रदर्शनकारीबीच भएको झडपपछि सो भवनमा आगजनी भएको बताइएको छ।
सम्पर्कविहीन भएपछि खोजी
झडप र आगलागीपछि सुरेश रजक सम्पर्कविहीन भएका थिए। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ। अस्पतालतिर पनि खोजी गरिरहेकै छौं।’
एभिन्युजका अर्का एक पत्रकारका अनुसार, घटनास्थलमा सुरेश रजक अड्किएको जानकारी प्रहरीलाई दिइएको थियो, तर तत्काल उद्धार हुन सकेन।
मिडिया प्रतिनिधिहरू घटनास्थलमा
एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार घटनास्थलमा पुगेर अवस्थाको जानकारी लिइरहेका छन्। पत्रकार सुरेश रजकको असामयिक निधनले मिडिया क्षेत्रमा ठूलो शोकको वातावरण छाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।