राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक, सुरक्षा व्यवस्था कडा

काठमाडौंमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ भने, गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागितामा बसेको बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी रणनीति तय गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ। “राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ। कर्फ्यु पनि लाग्दैछ,” सचिवालयले जनाएको छ।

राजावादी प्रदर्शनकारीहरू साना समूहमा विभाजित भई विभिन्न स्थानमा आगजनी तथा तोडफोड गर्दै हिँडिरहेको गृहमन्त्रालयले जानकारी दिएको छ। प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा तनाव बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारी स्वयं सुरक्षा परिचालनको नेतृत्व गर्न पुगेका थिए।

एसएसपी अधिकारीका अनुसार, स्थिति नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ। अन्य युनिटहरूबाट थप सुरक्षाकर्मीहरू पनि खटाइएका छन्, जसले गर्दा केही समयमा स्थिति नियन्त्रणमा आउने विश्वास गरिएको छ।

प्रदर्शनकारीहरूले व्यक्तिका घरमा समेत आगजनी र तोडफोड गरेका छन्। प्रदर्शनलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालित छन्। प्रशासनले प्रदर्शनकारीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिँदै कर्फ्यु आदेश कार्यान्वयन गर्न कडाइ गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्