काठमाडौंको तीनकुने शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो।

राजावादी समूहको प्रदर्शन उग्र भएपछि प्रशासनले कडा सुरक्षा उपायस्वरूप कर्फ्यु आदेश जारी गरेको हो। आदेश लागू हुनुअघि प्रहरीले माइक्रोफोनमार्फत सूचना प्रवाह गरेको थियो।

तोडफोड र आगजनी

प्रदर्शन बिथोलिएपछि तितरवितर भएको आक्रोशित समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको छ। सुपरस्टोरका सीईओ पानु पौडेलका अनुसार केही प्रदर्शनकारीले पसलमा क्षति पुर्‍याएका छन्।

त्यस्तै, प्रदर्शनकारीले आलोकनगरस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को कार्यालयमा आगजनी गरेका छन्। उनीहरू कोटेश्वरका गल्लीहरू हुँदै माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयतर्फ अघि बढेका छन्।

यसक्रममा केही प्रदर्शनकारीले सवारीसाधन तोडफोड गरेका छन्। कारमा आगजनी गर्नुका साथै एउटा मोटरसाइकल पनि क्षतिग्रस्त पारिएको छ।

प्रशासनले स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षाकर्मीले स्थिति शान्त बनाउन प्रयास गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्