प्रतिनिधिसभा बैठक सुचारु गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौं  – प्रतिनिधिसभा बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध सदन खुलाउने प्रयासस्वरूप प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि निष्कर्षविहीन भएको छ।

संसद् भवन, नयाँ बानेश्वरमा भएको छलफल निष्कर्षविहीन भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले भने, “सभामुखज्यूले बोलाएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन। हामी थप छलफल गरिरहेका छौँ र आजै संसद् खुलाउने प्रयास जारी छ।”

प्रमुख विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा स्पष्टिकरण दिनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन्। विरोधका कारण नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले निरन्तर सदन अवरोध गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमा सदनमा जवाफ नदिने घोषणा गरिसकेका छन्। विपक्षी दलहरूले भने प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरुद्ध नै रहने अडान लिएका छन्।

यही कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। केही ढिलाइ भए पनि बैठक सञ्चालनको वातावरण बनाउन निरन्तर छलफल भइरहेको बर्तौलाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्