रास्वपाको पहिलो महाधिवेशन वैशाखमा नहुने, नयाँ मिति तय गर्ने तयारी

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन पूर्वनिर्धारित वैशाख २५-२७ मा नहुने भएको छ। तल्लो तहका अधिवेशनहरू निर्धारित समयमै सम्पन्न नभएपछि महाधिवेशन पछि सार्नुपर्ने अवस्था आएको हो।

रास्वपाले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, हालसम्म केवल ६ वटा पालिकामा मात्र अधिवेशन सम्पन्न भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। वडास्तरको अधिवेशन अघि नबढ्दा पालिका तथा जिल्ला तहका अधिवेशन प्रभावित भएका छन्।

पार्टीले महाधिवेशन केन्द्रित छलफल गर्न अर्को साता केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ। बैठकले तल्लो तहका अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गर्ने वा नयाँ कार्यतालिका बनाएर तहगत अधिवेशन सम्पन्न गर्दै जाने भन्नेबारे निर्णय गर्नेछ।

तल्लो तहका अधिवेशन सम्पन्न गर्न थप २-४ महिना समय आवश्यक पर्ने भएकाले वैशाखमा महाधिवेशन सम्भव नरहेको नेताहरूले बताएका छन्। वर्षा र चाडपर्वका कारण मंसिरअघि महाधिवेशन गर्न कठिन हुने देखिएको छ।

रास्वपाले पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने व्यवस्था गरेको छ। विधानअनुसार पहिलो चरणमा ५० जना केन्द्रीय सदस्य र दोस्रो चरणमा थप ५० जना चयन गरिनेछ। महाधिवेशन स्थल एउटै राख्ने वा फरक स्थानमा गर्ने निर्णय केन्द्रीय निर्वाचन आयोगले गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्