संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राजनीति गर्नु हुँदैन : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कुनै पनि पक्षले राजनीति गर्नु नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन द्वन्द्व पीडितहरुलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। उनले नेपालमा शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै, पीडितहरुलाई न्याय दिलाउनु प्राथमिकता दिएर मात्र शान्ति प्रक्रिया दिगो बनाउन सकिने धारणा राखे।

‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन दलहरू एकमत’

उनले प्रमुख राजनीतिक दलहरुबीच संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा कुनै विवाद नभएको दाबी गरे। ‘अहिले पनि राजनीतिक दलहरुबीच विभिन्न विवाद छन्। सत्तापक्ष र प्रतिपक्षबीच बहस जारी छ। तर तमाम विवाद र विमतीका बाबजुद शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा हामी इनप्रिन्सिपल कहिल्यै विवादमा परेनौं,’ उनले भने।

‘संक्रमणकालीन न्यायलाई मौलिक विशेषता अनुसार अघि बढाउनुपर्छ’

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई कानुनी, प्राविधिक तथा राजनीतिक कारणले टुंगोमा पुग्न ढिलाइ भएको स्वीकार गरे। उनले नेपालको मौलिक विशेषता अनुसार नै यसलाई अघि बढाउनुपर्ने बताए।

‘संक्रमणकालीन न्यायलाई फौजदारी कानुनको ढाँचामा मात्र राखेर हेर्न सकिँदैन। यसका आफ्नै केही मौलिक मान्यताहरू छन्। यसलाई “यस वा होइन” भन्ने रूपमा बुझ्न सकिन्न, बरु अन्तर्राष्ट्रिय मापदण्ड, कानुनी व्यवस्था तथा सम्बन्धित देशको विशेषता अनुसार अघि बढाउनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा भएकाले यसलाई निष्कर्षमा पुर्‍याउन सबै राजनीतिक दलहरूले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्