काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा स्पष्ट जवाफ नदिएसम्म अवरोध कायमै रहने विपक्षी दलका नेताहरूले बताएका छन् ।
बुधबार पनि विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले संसद अवरोध गरेका छन् । उनीहरूले घिसिङको बर्खास्तीबारे संसदमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । यही कारण बुधबार प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठक अवरुद्ध पारिएको हो ।
प्रधानमन्त्री ओलीले भने संसदमा जवाफ नदिने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपासोशी चौधरीले भनिन्, “हामीले सोधेको कुरा स्पष्ट पार्न प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्छ । अन्यथा, संसद चल्न दिइने छैन ।”
चौधरीले प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा बाटोमा जवाफ दिएको तर संसदमा आउन नचाहेको आरोप लगाउँदै भनिन्, “संसद नै उचित ठाउँ हो, बाटोमा जवाफ दिएर उम्किन पाइँदैन । हामी उनलाई जवाफ दिने ठाउँ सदन हो भन्ने बोध गराउन खोज्दैछौं ।”
यसबीच, सभामुख देवराज घिमिरेले संसदलाई सहज रूपमा सञ्चालन गराउन प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् । तर, प्रधानमन्त्रीको अडानकै कारण संसदको अवरोध खुल्ने सम्भावना तत्काल नदेखिएको संसद स्रोतले जनाएको छ ।