हेटौंडा – हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा खुकुरी प्रहार गरी ३५ वर्षीया महिलाको हत्या भएको छ । आफ्नै देवरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार राति ९ बजे गुडिया दास आफ्नै घरको दोस्रो तलामा मृत फेला परेकी थिइन् । प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । घटनामा संलग्न रहेको आरोपमा गुडियाका कान्छा देवर २३ वर्षीय राहुल (रमेश) दासलाई हातमा खुकुरीसहित पक्राउ गरिएको छ ।
घटनाका क्रममा राहुलले आफ्ना दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ । रूपेशको टाउको, दाहिने हात र करङमा चोट लागेको छ । उनको हाल मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रूपेश घाइते भएको खबर पाएर घटनास्थल पुगेको प्रहरीले गुडिया मृत अवस्थामा फेला परेको थियो । मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा छन् । उनीहरूको तीन सन्तान रहेको बताइएको छ ।
दास परिवार हेटौंडामा फलफूलको व्यापार गर्दै आएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण घटना घटेको हुनसक्ने बताइएको छ । तर, स्पष्ट कारण भने खुलेको छैन । प्रहरीका अनुसार राहुलले हत्या तथा खुकुरी प्रहार गरेको स्वीकार गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।