नेपाली उत्पादनले बजार पाओस्, विदेशी तयारी सामान रोक्नुपर्छ : नाडा

काठमाडौं – नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटघाट गरी उद्योग व्यवसायका विविध समस्याबारे छलफल गरेको छ। उक्त भेटमा नाडाले देशका उद्योगी व्यवसायीले आफ्नै देशमा उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

छलफलका क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक सवारी साधनको नेपालमा निर्वाध प्रवेशले नेपाली मालवाहक सवारीको व्यवसायमा ठूलो असर परेको बताए। उनले सरकारको उद्योग व्यवसायप्रतिको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको गुनासो गरे। साथै, नेपाली उत्पादनले बजार पाउने वातावरण बनाउनुपर्ने भन्दै लुब्रिकेन्ट्स उद्योगका नाममा तयारी वस्तु (फिनिस्ड गुड्स) नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोप्रति आपत्ति जनाउँदै यसलाई रोक्नुपर्ने माग राखे।

अध्यक्ष चौधरीले नेपालमा टायर उद्योग स्थापना भए पनि त्यसका लागि मापदण्ड (स्ट्यान्डर्ड) नभएको उल्लेख गर्दै बुट मोडेलमा वैदेशिक लगानी भित्र्याउन सकिने सम्भावना रहेको बताए। उनले उद्योगी व्यवसायीका लागि अनुकूल वातावरण बनाउन नाडाको तर्फबाट ६ बुँदे लिखित सुझाव पनि मन्त्री भण्डारीलाई बुझाए।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन हालसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरूलाई समस्या भइरहेको भन्दै उक्त ऐन छिटो पारित गर्न आग्रह गरे। त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगको अवस्थाबारे जानकारी दिँदै बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न र सो क्षेत्रलाई विशेष आर्थिक क्षेत्र (सेज) का रूपमा प्रयोग गर्न सकिने सुझाव राखे।

जवाफमा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको अवस्थाबारे पर्याप्त जानकारीबिना संसद्मा प्रश्न उठ्ने गरेको गुनासो गरे। उनले नेपाल सरकारले खुला बजार अर्थनीति अवलम्बन गरेको र यस्तो नीतिमा ७०० प्रतिशतसम्म मुनाफा गर्न सकिने सम्भावना रहेको बताए। नाडाका सुझावहरूलाई राजस्व परामर्श समितिमा पठाउन अनुरोध गर्दै उनले एजेन्सी दर्तासम्बन्धी ऐन छिट्टै पारित हुने प्रतिबद्धता व्यक्त गरे। मन्त्री भण्डारीले उद्योग व्यवसायको उत्थानका लागि उपयुक्त वातावरण बनाउन आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

उक्त भेटघाटमा मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल र स्वकीय सचिव आनन्दप्रसाद भट्टको उपस्थिति थियो। नाडाको तर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान पनि सहभागी थिए।

यस भेटघाटले नेपालको उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान र अनुकूल वातावरण निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्यको सम्भावना बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्