काठमाडौं – सोमबार साँझ काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइट घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरूमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान थालिएको प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। ग्याङफाइटमा गम्भीर घाइते भएका गोलेलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिएको थियो, जहाँ राति ८ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उक्त झडप सोमबार साँझ साढे ७ बजेतिर भएको बताइएको छ।
प्रहरीका अनुसार होली पर्वको घटनालाई लिएर दुई समूहबीच विवाद चर्किएको थियो। विवादकै क्रममा २१ वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी तथा मुक्का प्रहार गरेका थिए। झडपमा घाइते भएका नागढुंगाका २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय ‘चक्रे’ भनिने पवन तामाङ तथा चन्द्रागिरि नगरपालिका–१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य जारी राखेको छ।