काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा आपत्ति जनाएको छ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई बर्खास्त गर्नु षड्यन्त्रपूर्ण भएको आरोप लगाए। उनले विद्युत् प्राधिकरणलाई वित्तीय रूपमा सुदृढ बनाउने प्रयासरत राष्ट्रसेवकलाई सरकारले बक्यौता रकम उठाउन नदिने नियत राखेर हटाएको दाबी गरे।
रास्वपाले घिसिङविरुद्ध गरिएको कारवाही सरकारको दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखलाको हिस्सा भएको जनाएको छ। संविधानले नचिन्ने दुई दलीय संयन्त्रको सहमतिमा भएको यस्तो जनविरोधी कदमले देशमा सुधार गर्न चाहने युवा पुस्ता र सचेत नागरिक निरुत्साहित भएको पार्टीको ठहर छ।
रास्वपाले वर्तमान सरकारलाई भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने जगमा बनेको आरोप लगाएको छ। नेपाली जनतामा व्याप्त रोष र निराशाको कारण प्रमुख दलहरू र तिनका नेतृत्व नै रहेको भन्दै रास्वपाले सरकारको कदमको विरोधमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएको छ। रास्वपाले विरोधका कार्यक्रमहरूमा पार्टीको सक्रिय नेतृत्व, सहभागिता तथा ऐक्यबद्धता रहने जनाएको छ।