काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयको प्रतीकात्मक विरोध जनाएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको निर्णयप्रति लामिछानेले असन्तुष्टि व्यक्त गरेका हुन्।
लामिछानेले फेसबुकमा एउटा भिडिओ पोस्ट गरेका छन्, जसमा उनले बिजुली बत्ती निभाएर मैनबत्ती बालेर मौन बसेको देखिन्छ। भिडिओसँगै उनले लेखेका छन्, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्।” यो कदमलाई उनले सरकारको उक्त निर्णयप्रति जनताको शक्तिलाई संकेत गर्ने प्रतीकको रूपमा प्रस्तुत गरेका छन्।
मन्त्रिपरिषद्को यो निर्णयले सामाजिक सञ्जाल र जनमानसमा व्यापक बहस छेडिएको छ। कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनको समर्थनमा धेरैले आवाज उठाइरहेका छन्। यता, सरकारले भने यो निर्णयको औचित्यबारे औपचारिक प्रतिक्रिया दिइसकेको छैन। लामिछानेको यो प्रतीकात्मक विरोधले राजनीतिक र जनस्तरमा थप चर्चा र प्रतिक्रिया उत्पन्न गर्ने देखिन्छ।