काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ। सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मिलित थिए।
छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार एवं एमाले नेता अग्नि खरेलले आयोग गठनका लागि सर्च कमिटी बनाउने सरकारको प्रस्तावमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति जनाएको जानकारी दिए।
सर्च कमिटीमार्फत आयोग गठन प्रक्रिया अघि बढ्ने
सल्लाहकार खरेलका अनुसार आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउनेछ। सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया अघि बढाइनेछ।
बैठकमा तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको उपस्थिति थियो।
यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोग गठनका लागि पदाधिकारी सिफारिस गर्न नसकेपछि प्रक्रिया नयाँ रूपमा अघि बढाइएको हो। मिश्र नेतृत्वको समितिले नयाँ प्रक्रिया थाल्न सुझाव दिएपछि सर्च कमिटी पुनः गठन गरी आयोग गठन प्रक्रिया अगाडि बढाइनेछ।