क्षयरोग न्यूनीकरणका लागि सरकारले प्राथमिकता बदल्न आवश्यक: मन्त्री पौडेल

भक्तपुर  – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरणका लागि सरकारले हालसम्मका प्राथमिकताहरू पुनरावलोकन गरी नयाँ र प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ।

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले क्षयरोग निवारणका लागि सरकारका अहिलेसम्मका प्रयासहरू अपूरा रहेको भन्दै प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार, खुला सीमानाका कारण क्षयरोग नियन्त्रणमा चुनौती थपिएको छ, जसका लागि मित्रराष्ट्रहरूसँग सहकार्य आवश्यक रहेको छ।

मन्त्री पौडेलले भन्नुभयो, “अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ र प्रभावकारी ढङ्गबाट अघि बढ्नुपर्छ। खुला सीमानाका कारण समस्या थपिएको छ, त्यसैले मित्रराष्ट्रसँग मिलेर साझा नीति अवलम्बन गर्न आवश्यक छ।”

उहाँले क्षयरोग उपचार तथा रोकथामका लागि अस्पताल सञ्चालन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो। मन्त्री पौडेलका अनुसार, आगामी आर्थिक वर्षमा क्षयरोग केन्द्रमा सम्पूर्ण सेवा उपलब्ध गराउने गरी अस्पताल सञ्चालन गर्न बजेट विनियोजन गरिनेछ।

मन्त्रालयले “टिभी फ्रि पालिका” घोषणा गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले पहिलो चरणमा १४९ पालिका चयन गरिएको जानकारी दिनुभयो। तर, नेपालमा कुल ७५३ पालिका रहेको भन्दै बाँकी पालिकाहरूमा क्षयरोग न्यूनीकरणका लागि स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभयो।

स्थानीय तहलाई क्षयरोग बिरामी पहिचानमा सक्रिय बनाउने योजना
मन्त्री पौडेलले क्षयरोगका बिरामी केवल मन्त्रालय र चिकित्सकले खोजेर भेटिने नभएकाले स्थानीय तहलाई यसमा सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले पालिकाहरूलाई क्षयरोग पहिचान तथा उपचार प्रक्रियामा अझ प्रभावकारी ढङ्गले सहभागी गराउनुपर्ने बताउनुभयो।

सरकारले क्षयरोग न्यूनीकरणलाई उच्च प्राथमिकता दिएर नीति तथा कार्यक्रम लागू गर्नुपर्ने उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्