काठमाडौं – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुहरूलाई अनावश्यक दुःख दिने ३७० जना कारबाहीमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिएको हो।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, र यातायात मजदुरहरूको समान भूमिका रहेको बताए। उनले यात्रुहरूलाई सहज वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा यात्रुहरूलाई अनावश्यक दुःख दिने, जथाभावी झोला तान्ने तथा अन्य दुव्र्यवहार रोक्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक निरन्जन थापाले बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको बताए। प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काका अनुसार चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको छ।
हाल नयाँ बसपार्कबाट देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ। बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले पछिल्लो समय बसपार्कभित्र कार्यरत कर्मचारीहरूलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले यात्रुहरूलाई आवश्यक परेमा उनीहरूसँग समन्वय गर्न आग्रह गरे।