काठमाडौँ – हेलम्बु–७ चनौटेमा बाल अधिकार समिति अन्तर्गतको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। हेलम्बु गाउँपालिकाको आयोजनामा, चाइल्ड नेपालको साझेदारी र भिसेन्ट फेररको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका दौरान चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले बाल अधिकार, कर्तव्य र बालबालिकासँग सम्बन्धित विभिन्न घटनाका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले हेलम्बुमा बालबालिकासँग सम्बन्धित घटनाहरू, तिनका कारण तथा समाधानका उपायहरूबारे छलफल गर्नुभएको थियो।
कार्यक्रमको सभापतित्व हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष लामिछानेले शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउन तथा पठनपाठनको वातावरण सिर्जना गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै, बाल अधिकारबाट बञ्चित कोही बालबालिका भए खबर गर्न सबैलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न पालिका लागिपरेको उल्लेख गर्नुभयो।
गाउँपालिकाले बालबालिकाको हकहितका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको स्मरण गर्दै उहाँले कुनै पनि बालबालिका आफ्नो अधिकारबाट बञ्चित हुन नदिन पालिका सचेत रहेको बताउनुभयो।