काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान फेरि स्थगित भएको छ। गत फागुन १२ गते झापाको कचनकवलबाट सुरू भएको अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो। बिहीबारदेखि बाराबाट पुनः सुरू भएको अभियान चितवनसम्म आइपुगेपछि सोमबारदेखि फेरि रोकिएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार चैत १५ गते काठमाडौंमा आयोजना हुने विरोध सभाको तयारीका लागि अभियान केही दिनका लागि स्थगित गरिएको हो। ‘नेताहरू आजै काठमाडौं फर्कँदै हुनुहुन्छ,’ आचार्यले बताए।
अभियानअन्तर्गत हालसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा कार्यक्रम सम्पन्न भइसकेको छ। अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियानका कार्यक्रम हुनेछन्। बाँकी रहेका जिल्लाहरूमा नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर समेटिएका छन्।
काठमाडौंको कार्यक्रम सकिएपछि माओवादी केन्द्रले बैठक बसी अभियानलाई पुनः निरन्तरता दिने जनाएको छ।