संघर्षको यात्रा : खड्क महताको सफलताको कथा

काठमाडौं – डडेल्धुराका खड्कबहादुर महता, जसले विपन्नताका चिसा रातहरूलाई संघर्षको ज्योति बनाएर आफ्नो यात्रालाई अघि बढाए। सामान्य किसान परिवारमा जन्मिएका महता अहिले शिक्षा विकास तथा समन्वय एकाइ, डडेल्धुराका प्रमुखका रूपमा आफ्नो जिल्ला परिवर्तन गर्ने अभियानमा लागिपरेका छन्।

शिक्षाको उज्यालो खोज्दै, उनले बाल्यकाल निकै कठिन परिस्थितिमा बिताए। आधारभूत आवश्यकताहरू जुटाउन धौधौ पर्ने अवस्था थियो, तर शिक्षाको उज्यालोको खोजी कहिल्यै रोकेनन्। गाउँमै मणिलेक माविबाट कक्षा १०, देबल दिव्यपुर विद्यालयबाट कक्षा १२, अनि कञ्चनपुर पुगेर उच्च शिक्षा हासिल गरे।

संघर्षको बाटो : भारतसम्मको यात्रा

विद्यालय पढ्दा नै आर्थिक अभाव उनको साथ छुटेन। पढाइलाई निरन्तरता दिन १२ कक्षा सकेपछि भारत पसे। तीन महिना होटेलमा काम गरे, महिनाको छ हजार रुपैयाँ कमाए। नेपाली युवाले भारतमा गर्ने संघर्षलाई उनले नजिकबाट नियाले। तर उनको लक्ष्य त्यही सीमित थिएन। कमाएको पैसाले नेपाल फर्किएर महेन्द्रनगरमा अध्ययन थाले।

त्यहाँ पनि आर्थिक अभाव टार्न सामुदायिक विद्यालयमा पढाउन थाले। पढाइसँगै कामलाई निरन्तरता दिँदै स्नातकोत्तरसम्मको यात्रा पूरा गरे। उनको मनले फेरि नयाँ यात्रा तय गर्‍यो— काठमाडौँ जाने।

काठमाडौंको संघर्ष र लोकसेवा यात्रा

परराष्ट्र मन्त्रालयमा अधिकृत बन्ने सपना बोकेर लोकसेवाको तयारीका लागि काठमाडौं पुगे। दिनमा जागिर, रातमा अध्ययनको चक्र चलाइरहे। अंग्रेजी विषयमा स्नातकोत्तर पूरा गरे। कठोर मिहिनेतकै कारण उनी डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख बन्न सफल भए।

महता भन्छन्, “संघर्ष बिना सफलता सम्भव छैन। इच्छाशक्ति बलियो भए अभावले रोकेको हुँदैन।”

शिक्षामा सुधार अभियान

अहिले उनी सामुदायिक विद्यालय सुधारको अभियानमा छन्। गाउँका मानिसहरू सामुदायिक विद्यालयप्रति अनुदार बन्दै गएपछि, विद्यालय सुधार गरेर त्यसलाई पुनः आकर्षक बनाउने उनको लक्ष्य छ। “संस्थागत विद्यालयको सिको होइन, सामुदायिक विद्यालयको आफ्नै पहिचान हुनुपर्छ,” उनी भन्छन्।

स्थानिय सरकार, शिक्षक र अभिभावकको सहकार्यमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने उनको अठोट छ। “शिक्षकलाई मोटिभेट गर्न जरुरी छ, शिक्षा सुधारका लागि सबैको सहकार्य आवश्यक छ,” उनी जोड दिन्छन्।

विदेश पलायन भइरहेका युवाहरुप्रति उनी गम्भीर छन्। स्वदेशमै अवसर खोज्नुपर्छ भन्ने उनको धारणा छ। “युवाले लक्ष्य लिएर मेहनत गर्नुपर्छ। सक्षम भइसकेपछि श्रम गर्न लाज मान्नु हुँदैन। उद्यमशील बन्ने बाटो रोज्नुपर्छ,” महता सल्लाह दिन्छन्।

संघर्षको खारिएको यात्राबाट उनले देखाएको प्रेरणाले हजारौं युवालाई नयाँ दिशा दिन सक्छ। खड्क महता, जो अभावको धरातलबाट उठेर सफलता शिखर चुम्न सफल भए, नेपाली युवाहरूका लागि उदाहरणीय पात्र बनेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्