प्रकाश भट्ट, कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कञ्चनपुरको वार्षिक जिल्ला प्रिन्सिपल भेला भव्य रूपमा सम्पन्न भएको छ। भेला शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्षण गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा एनप्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष सत्येस बहादुर चन्दको सभापतित्व रहेको थियो।
कार्यक्रमको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि सहसचिव सुरेन्द्र राज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष सुर्य बहादुर चन्दले आर्थिक प्रतिवेदन पेस गरे।
शैक्षिक सत्र २०८२ का लागि नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको यस भेलामा जिल्लाका निजी विद्यालयका प्रिन्सिपलहरू सहभागी थिए। छलफलका क्रममा शिक्षा स्तर सुधारका लागि विभिन्न रणनीतिहरू तय गरियो। साथै, आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता सहभागी विद्यालयका प्रमुखहरूले व्यक्त गरे।
यस वर्ष एनप्याब्सन कञ्चनपुरमा ७ नयाँ विद्यालय थपिएको छन्, जसले गर्दा अब सदस्य विद्यालयहरूको संख्या ११८ पुगेको छ। भेलामा लामो समयदेखि एनप्याब्सनमा आवद्ध भई शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि गरिएको थियो। साथै, हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट केन्द्रीय पदाधिकारी, सदस्य तथा सल्लाहकारमा निर्वाचित भएकाहरूलाई पनि विशेष सम्मान प्रदान गरियो।
कार्यक्रमलाई प्रमुख अतिथि लक्षण गिरी तथा सभापति सत्येस बहादुर चन्दले सम्बोधन गरेका थिए। उनीहरूले निजी विद्यालयहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न एनप्याब्सनको योगदान महत्त्वपूर्ण हुने बताए।
यस भेलाले निजी विद्यालयहरूको सङ्गठनात्मक सुदृढीकरणका साथै शिक्षा सुधारका लागि आवश्यक नीति निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
भेलामा एनप्याब्सन वरिष्ठ उपाध्यक्ष मौनी सहित केन्द्रीय उपाध्यक्ष तेज नाथ खनाल, सल्लाहकार द्वय प्रकाश बहादुर पाण्डेय र डा. भोजराज पन्त, केन्द्रीय सचिव डी.डी. अवस्थी, केन्द्रीय सह कोषाध्यक्ष कल्पना भुसाल, केन्द्रीय सदस्यहरू राजेन्द्र चापागाईँ, झंकर राज जोशी, सुदूरपश्चिम प्रदेश अध्यक्ष वीर बहादुर चन्द, कैलाली अध्यक्ष ललित सिंह साउँद लगायतका सहभागी भएका थिए।