प्रकाश भट्ट, कञ्चनपुर- मानसखण्ड फाउन्डेसन कञ्चनपुरको आयोजनामा रानाथारु होली पर्व संरक्षण-प्रवर्धन कार्यक्रम तथा नेपाल-भारत काव्य गोष्ठी २०८१ भव्य रूपमा सम्पन्न भएको छ ।
मानसखण्ड फाउन्डेसन कञ्चनपुरले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख प्रवर्धकका रूपमा सामाजिक विकास कार्यालय कञ्चनपुरको महत्त्वपूर्ण सहयोग रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य मानसखण्ड फाउन्डेसन कञ्चनपुरका निवर्तमान अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’ ले राख्नुभएको थियो। राना थारु समुदायको सांस्कृतिक धरोहर होली पर्वको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा स्रष्टा सम्मान तथा रचना वाचनसमेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मानस खण्ड फाउन्डेसन कञ्चनपुरका सदस्य कविराज भट्टले गर्नुभएको थियो। यस विशेष साहित्यिक समारोहमा नेपाल तथा छिमेकी राष्ट्र भारतबाट आएका साहित्यकारहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनायो। साथै कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उनीहरूका सिर्जनाहरू समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख गोपाल दत्त जोशी रहनुभएको थियो भने सभापतित्व मानस खण्ड फाउन्डेसन कञ्चनपुरका अध्यक्ष नारा जोशीले गर्नुभएको थियो। प्रमुख अतिथि जोशीले समुदायको संस्कृति तथा साहित्यको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिनुभयो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, साहित्यकार, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले रानाथारु समुदायको संस्कृतिलाई राष्ट्रिय पहिचान दिलाउन थप पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। सांस्कृतिक सम्पदाको संरक्षण र साहित्यिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।