स्थानीय बाजा संरक्षण तथा प्रवर्धनार्थ वाद्यवादन प्रतियोगिता २०८१ सम्पन्न

प्रकाश भट्ट, कञ्चनपुर- “हाम्रो संस्कृति हाम्रो पहिचान, मौलिक संस्कृति राष्ट्रको शान” भन्ने मूल नाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बाजा संरक्षण तथा प्रवर्धनका लागि आयोजित वाद्यवादन प्रतियोगिता २०८१ सम्पन्न भएको छ। मानसखण्ड फाउन्डेसन कञ्चनपुरको आयोजना र सामाजिक विकास कार्यालय कञ्चनपुरको मुख्य प्रवर्धनमा सम्पन्न यस कार्यक्रमले स्थानीय संस्कृति र परम्परागत बाजाहरूको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रमको अध्यक्षता मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशीले गर्नुभएको थियो भने सामाजिक विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख गोपाल दत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार नरबहादुर साउँद र साहित्यकार बलदेव अवस्थीलाई सम्मानित गरिएको थियो।

मानसखण्ड फाउन्डेसनका निवर्तमान अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’ले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै स्थानीय बाजाहरूको संरक्षणले सांस्कृतिक पहिचान बलियो बनाउने बताउनुभयो।

वाद्यवादन प्रतियोगितामा कुल आठ समूहले सहभागिता जनाएका थिए। प्रतियोगितामा सिद्ध बैजनाथ सेवा समिति हल्दुखाल (भुवाभर्सो टोली) प्रथम स्थान हासिल गर्न सफल भयो। उक्त समूहले नगद ५,००० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्‍यो। त्यस्तै, बिजुल छलिया पार्टी सुकासाल दोस्रो स्थानमा रहँदै ३,००० रुपैयाँ र प्रमाणपत्र हात पार्‍यो। तेस्रो स्थान मसकबिन बाजा वादक जमाल अलीले प्राप्त गरे जसले २,००० रुपैयाँ र प्रमाणपत्र पाए।

त्यसैगरी, सान्त्वना पुरस्कार मोहन आउजी (हुड्केली) र तिलक बहादुर सिंह (लोपोन्मुख बिणै बाजा र बासुरी) ले जनही १,००० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा सहभागी सबै समूहलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन मानसखण्ड फाउन्डेसन कञ्चनपुरका सदस्य कविराज भट्टले गर्नुभएको थियो भने संयोजनको जिम्मेवारी जगदीश ओझाले सम्हाल्नुभएको थियो।

यो प्रतियोगिताले सुदूरपश्चिमको सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई परम्परागत सङ्गीत र बाजाहरूप्रति आकर्षित गरेको छ। स्थानीय बाजाहरूको संरक्षण र प्रवर्धनमा यस्ता कार्यक्रमले ठुलो योगदान पुर्‍याउने विश्वास आयोजक संस्था मानस खण्ड फाउन्डेसनले लिएको छ। सहभागी र दर्शकहरूले पनि यस्ता कार्यक्रमले गाउँघरमा लुकेर रहेका कला र प्रतिभालाई बाहिर ल्याउन मद्दत गरेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष नारा जोशीले आगामी दिनमा पनि यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय संस्कृतिको संरक्षण र सम्मान नै राष्ट्रको पहिचान बलियो बनाउने आधार भएको उहाँको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्