प्रोटोनको ‘इ–मास ७’ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक

काठमाडौं – प्रोटोनको पहिलो विद्युतीय कार ‘इ–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले शुक्रबार एक विशेष कार्यक्रमबीच यो कार सार्वजनिक गरेको हो। कम्पनीले यो कारले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने दाबी गरेको छ।

‘इ–मास ७’ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। नेपाली बजारमा यसको मूल्य ५७ लाख रुपैयाँबाट सुरु हुन्छ। यो गाडी प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रिन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी पाँच आकर्षक रङमा पाइन्छ।

प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३४५ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ। यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ, जसले फुल चार्जमा ४१० किलोमिटरसम्मको माइलेज प्रदान गर्छ। डिसी फास्ट चार्जर प्रयोग गर्दा यो गाडी २० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा यो कार सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए। उनले भने, “नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको समयमा हामी उच्च प्रदर्शन र वातावरणमैत्री सवारी प्रदान गर्न प्रतिबद्ध छौं। यो कारले नेपाली मोटरचालकको अपेक्षा पूरा गर्नुका साथै सरकारको स्वच्छ ऊर्जा नीतिलाई समर्थन गर्नेछ।”

कम्पनीले आगामी आर्थिक वर्षमा देशभर डिलरसिप विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ। साथै, चार्जिङ स्टेसनको पूर्वाधार विस्तारमा पनि जोड दिने जगदम्बा मोटर्सले जनाएको छ।

यो कारको आगमनले नेपालको विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा थपिएको छ भने स्वच्छ ऊर्जा र दिगो यातायातको लक्ष्यमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्