गोरखा पुगेका पूर्वराजा ज्ञानेन्द्र: पुर्ख्यौली थलोमा खुसी, शान्ति र समृद्धिको कामना

गोरखा – पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको थलो गोरखा आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन्। शनिबार गोरखाको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजाअर्चना गर्न पुगेका पूर्वराजाले सञ्चारकर्मीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।

पूर्वराजा शाहले भने, “गोरखा आएर मलाई निकै खुसी लागेको छ। मेरो जन्मथलो नभए पनि पुर्खाको थलो भएकाले यहाँ आउँदा विशेष अनुभूति भएको छ। यहाँका सबैलाई भेट्दा पनि आनन्द महसुस भएको छ।”

देशमा शान्ति आवश्यक रहेको उल्लेख गर्दै पूर्वराजा शाहले कसैले पनि कसैको कुभलो नचिताउनुपर्ने बताएका छन्। उनले भने, “अहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस्, र केही खराब सोच नराखोस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्न डराउनु पर्दैन। देशमा शान्ति कायम रहोस्, विकास अघि बढोस्, सबै नागरिक सुख र समृद्धिमा रमाउन सकून्।”

पूर्वराजा शाह मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाअर्चना गर्न गोरखा पुगेका हुन्। उनको आगमनले स्थानीयवासी उत्साहित बनेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्