“पूर्वविशिष्टलाई सुविधा दिनुहुँदैन, स्वास्थ्य बिमा ६६ लाख घरमा पुर्‍याउँछौँ” : स्वास्थ्य मन्त्री पौडेल

नेपालगन्ज  – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पूर्वविशिष्ट व्यक्तिहरुलाई राज्यले सुविधा दिनु उचित नहुने बताएका छन्। नेपाली कांग्रेस बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन्।

“राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक हो, तर सुविधा दिनु उचित होइन,” मन्त्री पौडेलले भने।

कार्यक्रममा उनले नेपालगन्ज मेडिकल कलेजका समस्याहरुबारे पनि बोले। उनले मेडिकल कलेजले आफ्ना समस्याहरु आफैँले समाधान खोज्नुपर्ने र राज्यले तोकेका नीति नियमहरु पालना गर्नुपर्नेमा जोड दिए। “मेडिकल कलेज नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ,” उनले थपे।

मन्त्री पौडेलले सरकारी, निजी र सामुदायिक अस्पतालहरुले दक्ष जनशक्तिलाई श्रम ऐनले तोकेअनुसार तलब नदिएमा ती अस्पतालहरुको सम्बन्धन खारेज गरिने चेतावनी पनि दिए।

औषधि मूल्य समायोजन र स्वास्थ्य बिमा प्रभावकारी बनाउने योजना

मन्त्री पौडेलले औषधिको मूल्य समायोजनका लागि काम भइरहेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी नीति बनाइने बताए। साथै, स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले ठूलो लगानी गरेको र ती अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन हुने उनले उल्लेख गरे।

उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको बताउँदै ६६ लाख घरपरिवारलाई बिमा योजनामा जोड्ने लक्ष्य रहेको खुलासा गरे। “बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनु हाम्रो प्राथमिकता हो,” उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्