ऊर्जामन्त्रीमाथि माओवादी अध्यक्ष दाहालको कडा टिप्पणी : ‘जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई मन्त्री’

File Photo

चितवन – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जामन्त्रीमाथि कडा टिप्पणी गरेका छन्। तराई-मधेश जागरण अभियान अन्तर्गत शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ‘जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको’ आरोप लगाए।

उनले थपे, “राम्रो काम गर्नेलाई कोपरेको छ, सताइएको छ। अहिलेको अवस्थामा सुधार ल्याउन अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणालीतर्फ जानुपर्छ।”

उनको भनाइअनुसार, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले विज्ञहरूलाई मन्त्री बनाउन सक्ने व्यवस्था गरेमा विश्वविद्यालयका अनुभवी शिक्षकहरू र मजदुर आन्दोलनका अनुभवी नेताहरू मन्त्री बन्न पाउने छन्। तर अहिलेको अवस्थामा भ्रष्टाचारमा मुछिएकाहरू नै मन्त्री बनेको उनको आरोप छ।

हाल नेपाली कांग्रेसका नेता दीपक खड्का ऊर्जामन्त्री छन्। ऊर्जामन्त्री खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद देखिएको छ। घिसिङलाई माओवादी नेतृत्वको सरकारका पालामा प्राधिकरणमा ल्याइएको थियो। दाहालको पछिल्लो अभिव्यक्तिले यो विवादलाई झन् चर्काएको देखिन्छ।

ऊर्जामन्त्री खड्काले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्