आईपीएल २०२५ आजदेखि सुरु, उद्घाटन खेलमा कोलकाता र बेंगलुरु भिड्दै

काठमाडौं – विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे कोलकातास्थित इडेन गार्डेन्स क्रिकेट मैदानमा हुनेछ।

आईपीएलको उद्घाटन खेलअघि विशेष समारोह आयोजना गरिनेछ, जसमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। अभिनेत्री दिशा पटनी, चर्चित गायिका श्रेया घोसाललगायतले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको छ। गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै तेस्रो पटक आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स पहिलो खेलमा जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा छ।

त्यस्तै, अहिलेसम्म आईपीएल उपाधि जित्न नसकेको रोयल च्यालेन्जर्स बेंगलुरु यस पटक नयाँ कप्तानको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स सर्वाधिक सफल टोली हुन्। दुवैले समान पाँच पटक आईपीएल उपाधि जितेका छन्। कोलकाताले तीन पटक च्याम्पियन बन्न सफल भएको छ भने डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले एक-एक पटक उपाधि उचालेका छन्। आईपीएल २०२५ को यो संस्करण पनि रोमाञ्चक खेलहरूसँगै थुप्रै नयाँ कीर्तिमानहरू कायम गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्