लोकतान्त्रिक गणतन्त्र नै सर्वस्वीकार्य ब्यवस्था हो- सभापति देउवा

काठमाडौँ- नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र सर्वस्वीकार्य ब्यवस्था रहेको बताउनु भएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले लोकतन्त्रले  मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्ने बताउनु भयो ।

सभापति देउवाले नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापन शुनिश्चित गरेको बताउनु भयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरुको महत्वपूर्ण योगदान रहेको बताउनु हुँदै देउवाले नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा उहाँहरुले पुर्याउनु भएको योगदानको उच्च प्रशंसा समेत गर्नु भयो ।

”लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले पनि प्रष्ट पारेको
छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पनि नेपालमा ठोस कदम चालिएका हुन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा नेपालले शुरुमै हस्ताक्षर गरेको हो । अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको शुरुवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजनाहरु निर्माण भएका हुन्”, काग्रेस सभापति देउवाले भन्नु भयो ।

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरुलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको अवस्था रहेपनि मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्