नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिरभित्रै गर्नुपर्छ : नेता शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्रै गर्नुपर्ने बताएका छन्।

शुक्रबार बत्तिसपुतलीमा कांग्रेस मोरङ-काठमाडौ सम्पर्क समितिले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै कोइरालाले समयमै महाधिवेशन गराउन दबाब दिनुपर्ने बताए।

“सामाजिक सञ्जालमा तपाईंहरू दिनदिनै केही न केही लेखिरहनु भएको म देख्छु। मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस्— नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्रै हुनुपर्छ। यस्तो प्रेसर पर्छ कि त्यो कसैले खेप्न सक्दैन,” उनले भने।

उनले महाधिवेशनले पार्टीलाई चलायमान बनाउने भन्दै कांग्रेसलाई सशक्त बनाउन त्यसको आवश्यकता रहेको बताए। “को जित्छ, को हार्छ भन्ने कुरा होइन। पार्टीलाई महाधिवेशनले चलायमान बनाउँछ। कांग्रेस नागरिकहरूको पार्टी हो, हामी महाधिवेशन र मुलुककै आर्थिक विकास गर्न सक्छौं,” कोइरालाले भने।

उनले नेपाली कांग्रेसको पछिल्लो महाधिवेशन २०७८ को मंसिरमा सम्पन्न भएकाले चार वर्षको अवधिमा नयाँ महाधिवेशन हुनुपर्ने स्पष्ट पारे।

“१४औं महाधिवेशनमा शेरबहादुर देउवाजी र म प्रतिस्पर्धामा थियौं। मैले चुनाव हारेँ, तर हामीबीच कुनै तिक्तता छैन। उहाँ नै सभापति हुनुहुन्छ,” उनले भने।

कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भएर जानुपर्नेमा जोड दिँदै पार्टीले आवश्यक परेमा एक्लै लड्नसक्ने दाबी गरे। “हामी २०८४ को चुनावमा एकढिक्का भएर जानुपर्छ। कांग्रेसले एक्लै पनि चुनाव लड्न सक्छ,” उनले थपे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्