काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनालगायतका एजेन्डामा आन्दोलन अघि बढ्ने बताएका छन्।
शुक्रबार रिपोर्टर्स नेपालमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री राणाले राजावादी शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार, सुवेदी नेतृत्वको समितिमा विभिन्न राजावादी समूह, अभियन्ता तथा दलहरू समेटिएका छन्।
‘नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ, त्यही छाताअन्तर्गत सबै शक्ति एकताबद्ध भएका छन्। हामी सबै पार्टीहरू, दुर्गा प्रसाईंजीहरू पनि। शाही शक्ति, अभियन्ता तथा पार्टीहरू मिलेर अघि बढ्नेछ,’ उनले भने।
यसअघि, राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था पुनर्स्थापनालगायतका विषयमा आन्दोलन अघि बढाउने निर्णय गरिसकेको थियो। तर, महामन्त्री राणाले सुवेदीको नेतृत्वमा सबै शक्तिहरूलाई समेटेर आन्दोलन अघि बढ्ने धारणा राखेका हुन्।
राणाको यो अभिव्यक्तिले राप्रपाभित्र असन्तुष्टि देखिएको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा सुवेदी नेतृत्वको समितिमा सरिक भएपछि कार्यसम्पादन समितिमा असहमति उत्पन्न भएको बताइएको छ।
यस्तै, अध्यक्ष लिङ्देनले आन्दोलन परिचालन मूल समितिबाट नै पार्टीका आन्दोलन तय गर्ने निर्णय गरेपछि महामन्त्री राणाको अधिकार सीमित पारिएको थियो।
तर, महामन्त्री राणाले सुवेदी नेतृत्वको आन्दोलन नै अघि बढ्ने प्रस्ट पारेका छन्। ‘मेरो जिम्मेवारी राप्रपामा पनि छ, सुवेदी नेतृत्वमा पनि छ,’ उनले भने, ‘राप्रपा, कमल थापा, शिव सेना सबैले एकअर्कालाई सहयोग गर्ने सहमति छ। आन्दोलन विस्तार गर्ने समिति मेरो अध्यक्षतामा बन्दैछ।’
यसले आगामी दिनमा राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनले कस्तो मोड लिनेछ भन्ने चासो बढाएको छ।