काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्क गर्ने प्रयास गरिरहेको जानकारी गराएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्याउने उद्देश्यले आफूले प्रचण्डसँग सम्पर्क गर्न खोजेको भए पनि स्वास्थ्य समस्याका कारण प्रचण्ड सम्पर्कमा आउन नसकेको बताए। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस विषयमा अहिले पनि म प्रयासरत छु। विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु। मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्य समस्याका कारण सम्पर्कमा आउन नसक्नुभएको जवाफ पाएको छु।’
प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी कामहरू अघि बढ्ने विश्वास व्यक्त गरे। उनले सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन दृढ रहेको पुनः दोहोर्याए।